Daily Murli

23-10-2020
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
मधुबन
“ मीठे बच्चे– श्रेष्ठ भन्दा श्रेष्ठ बन्नको लागि स्वयं भगवानले तिमीलाई श्रेष्ठ मत दिइरहनु भएको छ , जसद्वारा तिमी नर्कवासीबाट स्वर्गवासी बन्छौ।”
प्रश्न:- देवता बन्ने बच्चाहरूले विशेष कुन कुराको ध्यान राख्नुपर्छ?
उत्तर:- कहिल्यै कुनै कुरामा रिसाउनु हुँदैन, अनुहार मुर्दा जस्तो बनाउनु हुँदैन। कसैलाई दु:ख दिनु हुँदैन। देवता बन्नु छ भने मुखबाट सधैं फूल नै निस्किनु पर्छ। यदि काँडा वा पत्थर निस्किन्छ भने पत्थरको पत्थर ठहरियौ। धेरै राम्रा गुण धारण गर्नुपर्छ। यहाँ नै सर्व गुण सम्पन्न बन्नु छ। सजाय खायौ भने फेरि राम्रो पद मिल्दैन।

ओम् शान्ति। नयाँ विश्व वा नयाँ दुनियाँको मालिक बन्ने रूहानी बच्चाहरूप्रति रूहानी बाबा बसेर सम्झाउनु हुन्छ। यो त बच्चाहरूले सम्झन्छन्– बाबा आउनु भएको छ बेहदको वर्सा दिन। हामी लायक थिएनौं। भन्छन्– हे प्रभु! म लायक छैन, मलाई लायक बनाउनुहोस्। बाबाले बच्चाहरूलाई सम्झाउनु हुन्छ– तिमी मनुष्य हौ, यी देवताहरू पनि मनुष्य नै हुन् तर यिनमा दैवी गुण छ। यिनलाई सच्चा-सच्चा मनुष्य भनिन्छ। मनुष्यहरूमा आसुरी गुण हुन्छन् त्यसैले उनलाई भनिन्छ– दानव। चालचलन जनावर जस्तो हुन्छ। दैवी गुण हुँदैन, त्यसैले उनलाई आसुरी गुणवाला भनिन्छ। अब फेरि बाबा आएर तिमीलाई श्रेष्ठ देवता बनाउनु हुन्छ। सत्य खण्डमा रहने सच्चा-सच्चा मनुष्य यी लक्ष्मी-नारायण हुन्, यिनलाई फेरि देवता भनिन्छ। यिनीहरूमा दैवी गुण हुन्छ। गायन पनि गर्छन्– हे पतित-पावन आउनुहोस्। तर पावन राजाहरू कस्ता हुन्छन् र पतित राजाहरू कस्ता हुन्छन्, यो रहस्य कसैले पनि जानेका छैनन्। त्यो हो भक्तिमार्ग। ज्ञानलाई त अरू कसैले पनि बुझेका छैनन्। तिमी बच्चाहरूलाई बाबाले सम्झाउनु हुन्छ र यस्तो बनाउनु हुन्छ। कर्म त यी देवताहरूले पनि सत्ययुगमा गर्छन् तर पतित कर्म गर्दैनन्। उनमा दैवी गुण हुन्छ। फोहोरी काम नगर्नेहरू नै स्वर्गवासी हुन्छन्। नर्कवासीबाट मायाले फोहोरी काम गराउँछ। अब भगवान बसेर श्रेष्ठ काम गराउनु हुन्छ र श्रेष्ठ मत दिनुहुन्छ, यस्तो फोहोरी काम नगर। श्रेष्ठ भन्दा श्रेष्ठ बन्नको लागि श्रेष्ठ भन्दा श्रेष्ठ मत दिनुहुन्छ। देवताहरू श्रेष्ठ हुन्छन् नि। रहन्छन् पनि नयाँ दुनियाँ स्वर्गमा। यो पनि तिमीहरू मध्ये नम्बरवार पुरुषार्थ अनुसार जानेका छन् त्यसैले माला पनि बन्छ ८ को वा १०८ को, अनि १६१०८ को भनिन्छ, त्यो पनि के भयो? यति करोड मनुष्य छन्, यिनमा १६ हजार निस्के त के भयो? चौथाई प्रतिशत पनि छैन। बाबाले बच्चाहरूलाई कति उच्च बनाउनु हुन्छ, सधैं बच्चाहरूलाई सम्झाउनु हुन्छ, कुनै पनि विकर्म नगर। तिमीलाई यस्तो बाबा मिलेको छ त्यसैले धेरै खुसी हुनुपर्छ। तिमीले सम्झन्छौ– हामीलाई बेहदका बाबाले आफ्नो बनाउनु भएको छ। हामी उहाँको बनेका छौं। बाबा हुनुहुन्छ स्वर्गका रचयिता। यस्तो स्वर्गको मालिक बन्नको लायक सर्वगुण सम्पन्न बन्नु छ। यी लक्ष्मी-नारायण सर्व गुण सम्पन्न थिए। यिनको लायकपनको महिमा गरिन्छ, फेरि ८४ जन्मपछि नालायक बन्छन्। एक जन्म पनि तल उत्रेपछि अलिकति कला कम हुन्छ। यसरी विस्तारै-विस्तारै कम हुँदै जान्छ। जसरी ड्रामा पनि जुम्रा जसरी चल्छ नि। तिमी पनि विस्तारै-विस्तारै तल उत्रिन्छौ तब १२५० वर्षमा दुई कला कम हुन जान्छ। फेरि रावण राज्यमा छिटो-छिटो कला कम हुन्छ। ग्रहण लाग्छ। जसरी सूर्य-चन्द्रमालाई पनि ग्रहण लाग्छ नि। यस्तो होइन, चन्द्रमा तारालाई ग्रहण लाग्दैन, सबैलाई पूरा ग्रहण लागेको छ। अब बाबा भन्नुहुन्छ– यादबाट नै ग्रहण उत्रिन्छ। कुनै पनि पाप नगर। पहिलो नम्बरको पाप हो देह-अभिमानमा आउनु। यो कडा पाप हो। बच्चाहरूलाई यस एक जन्मको लागि नै शिक्षा मिल्छ किनकि अब दुनियाँ चेन्ज हुनु छ। फेरि यस्तो शिक्षा कहिल्यै मिल्दैन। कानुन आदिको शिक्षा त तिमीले जन्म-जन्मान्तर लिदै आएका छौ। स्कुल आदि त सधैं हुन्छन् नै। यो ज्ञान एक पटक मिल्यो, पुग्यो। ज्ञानसागर बाबा एकै पटक मात्र आउनु हुन्छ। उहाँले आफ्नो र आफ्ना रचनाको आदि-मध्य-अन्त्यको सारा ज्ञान दिनुहुन्छ। बाबाले कति सहज गरेर सम्झाउनु हुन्छ– तिमी आत्माहरू पार्टधारी हौ। आत्माहरू आफ्नो घरबाट आएर यहाँ पार्ट खेल्छन्। त्यसलाई मुक्तिधाम भनिन्छ। स्वर्ग हो जीवनमुक्ति। यहाँ त हुन्छ जीवन-बन्ध। यो शब्द पनि यथार्थ रूपले याद गर्नुपर्छ। मोक्ष कहिल्यै हुँदैन। मनुष्यले भन्छन्– मोक्ष मिलोस् अर्थात् आवागमनबाट छुटौँ। तर पार्टबाट त निस्किन सक्दैनौ। यो अनादि बनिबनाऊ खेल हो। विश्वको इतिहास-भूगोल हुबहु दोहोरिन्छ। सत्ययुगमा उनै देवी-देवता आउँछन्। फेरि पछि इस्लामी, बौद्धी आदि सबै आउँछन्। यो मानव वृक्ष बन्छ। यसको बीज माथि हुनुहुन्छ। बाबा हुनुहुन्छ– मनुष्य सृष्टिका बीजरूप। मनुष्य सृष्टि त हुन्छ नै तर सत्ययुगमा धेरै सानो हुन्छ अनि विस्तारै-विस्तारै वृद्धि हुँदै जान्छ। फेरि सानो कसरी हुन्छ? बाबा आएर पतितबाट पावन बनाउनु हुन्छ। कति थोरै पावन बन्छन्। करोडौंमा कोही निस्किन्छन्। आधाकल्प धेरै कम हुन्छन्। आधाकल्पमा कति वृद्धि हुन्छ। त्यसैले सबैभन्दा धेरै सम्प्रदाय ती देवी-देवताको हुनुपर्थ्यो किनकि सबैभन्दा पहिला यिनीहरू आउँछन् तर अरू-अरू धर्ममा जान्छन् किनकि बाबालाई नै भुलेका छन्। यो हो एकज भूलको खेल। भुल्नाले कंगाल बन्छन्। भुल्दा-भुल्दा एकदमै भुल्छन्। भक्ति पनि पहिला एकको गर्छन् किनकि सर्वको सद्गति गर्ने एक हुनुहुन्छ फेरि अरू कसैको भक्ति किन गर्नुपर्यो। यी लक्ष्मी-नारायणलाई पनि बनाउनेवाला त शिव नै हुनुहुन्छ नि। कृष्ण बनाउनेवाला कसरी हुन सक्छन्? यो त हुन सक्दैन। राजयोग सिकाउने कृष्ण कसरी हुन्छन्? उनी त हुन् सत्ययुगका राजकुमार। कति ठूलो भूल गरिदिएका छन्। बुद्धिमा बस्दैन। अब बाबा भन्नुहुन्छ– मलाई याद गर अनि दैवी गुण धारण गर। कुनै पनि सम्पत्तिको झगडा आदि छ भने त्यसलाई खतम गर। झगडा गर्दा-गर्दा प्राण पनि निस्किन्छ। बाबा सम्झाउनु हुन्छ– यिनले छोडे तर कुनै झगडा आदि कहाँ गरे! कम मिले पनि केही छैन, त्यसको बदलामा कति ठूलो राजाई मिल्यो। बाबा बताउँछन्– मलाई साक्षात्कार भयो विनाश र राजाईको, कति खुसी भयो। मलाई विश्वको बादशाही मिल्दैछ भने यो सबै के हो। यत्तिकै कहाँ कोही भोकै मर्छ र! पैसा नभएकाले पनि पेट त भर्छन् नि। मम्माले केही ल्याइन् र? तर मम्मालाई कति याद गर्छन्। बाबा भन्नुहुन्छ– याद गर्छौ, यो त ठीक छ, तर अब मम्माको नाम-रूपलाई याद गर्नु छैन। हामीले पनि उनको जस्तो धारणा गर्नुपर्छ। हामी पनि मम्मा जस्तो राम्रो बनेर गद्दी लायक बनौं। केवल मम्माको महिमा गरेर के हुन्छ र! बाबा त भन्नुहुन्छ– म एकलाई याद गर, यादको यात्रामा रहनु छ। मम्माले जस्तो ज्ञान सुनाउनु छ। मम्माको महिमाको सबूत तब हुन्छ जब तिमी पनि त्यस्तै महिमा लायक बनेर देखाउँछौ। केवल मम्मा-मम्मा भन्नाले पेट भरिदैन। उल्टै पेट पिठ्युमा टाँसिन्छ। शिवबाबालाई याद गर्नाले पेट भरिन्छ। यी दादालाई याद गर्नाले पनि पेट भरिदैन। याद गर्नु छ एकलाई। बलिहारी एकको हो। सेवाको युक्ति रच्नुपर्छ। सदैव मुखबाट फूल निस्किनुपर्छ। यदि काँडा र पत्थर निस्किन्छ भने पत्थरको पत्थर नै ठहरियौ। गुण धेरै राम्रोसँग धारण गर्नु छ। तिमी यहाँ सर्वगुण सम्पन्न बन्नु छ। सजाय खायौ भने फेरि पद राम्रो मिल्दैन। यहाँ बच्चाहरू आउँछन् बाबासँग डाइरेक्ट सुन्न। यहाँ बाबाले ताजा-ताजा नशा चढाउनु हुन्छ। सेन्टरमा नशा चढ्छ फेरि घरमा गयो, सम्बन्धी आदि देख्यो अनि खतम। यहाँ तिमीले सम्झन्छौ– हामी बाबाको परिवारमा बसेका छौं। त्यहाँ आसुरी परिवार हुन्छ। कति झगडा आदि हुन्छ। त्यहाँ जानासाथ दलदलमा पर्छन्। यहाँ त तिमीले बाबालाई भुल्नु हुँदैन। दुनियाँमा सच्चा शान्ति कसैलाई पनि मिल्न सक्दैन। पवित्रता, सुख, शान्ति, सम्पत्ति बाबा सिवाय अरू कसैले पनि दिन सक्दैन। यस्तो पनि होइन, बाबाले आशीर्वाद दिनुहुन्छ– आयुष्मान् भव, पुत्रवान भव। आशीर्वादबाट केही पनि मिल्दैन। यो मनुष्यको भूल हो। संन्यासी आदिले पनि आशीर्वाद दिन सक्दैनन्। आज आशीर्वाद दिन्छन्, भोलि स्वयं नै मर्छन्। पोप पनि हेर कति छन्। गुरुहरूको गद्दी चल्छ। सानै उमेरमा गुरु मरे भने फेरि अर्को बनाउँछन् अथवा सानो चेलालाई गुरु बनाउँछन्। यहाँ त बापदादा हुनुहुन्छ दिनेवाला। बाबाले लिएर के गर्नुहुन्छ। बाबा त निराकार हुनुहुन्छ। लिन्छन् साकारले। यो पनि बुझ्ने कुरा हो। यो त कहिल्यै भन्नु हुँदैन, हामीले शिवबाबालाई दिन्छौं। हामीले शिवबाबाबाट पदम लियौं, दिएका होइनौ। बाबाले त तिमीलाई अनगिन्ती दिनुहुन्छ। शिवबाबा त दाता हुनुहुन्छ, तिमीले उहाँलाई दिन्छौ कसरी? मैले दिएँ, यो सम्झिनाले फेरि देह-अभिमान आउँछ। हामीले शिवबाबाबाट लिइरहेका छौं। बाबाको पासमा यति धेरै बच्चाहरू आउँछन्, आएर रहन्छन् भने प्रबन्ध त चाहिन्छ नि। तिमीले दिन्छौ भने पनि आफ्नै लागि। उहाँले आफ्नो लागि के गर्नु छ र! राजधानी त तिमीलाई दिनुहुन्छ त्यसैले गर्छौ पनि तिमीले नै। तिमीलाई आफू भन्दा पनि उच्च बनाउँछु। यस्तो बाबालाई तिमीले भुल्छौ। आधाकल्प पूज्य, आधाकल्प पुजारी। पूज्य बन्नाले तिमी सुखधामको मालिक बन्छौ फेरि पुजारी बन्नाले दु:खधामको मालिक बन्छौ। यो पनि कसैलाई थाहा छैन– बाबा कहिले आएर स्वर्गको स्थापना गर्नुहुन्छ? यी कुरालाई तिमी संगमयुगी ब्राह्मणले नै जानेका छौ। बाबाले यति राम्ररी सम्झाउनु हुन्छ फेरि पनि बुद्धिमा बस्दैन। जसरी बाबाले सम्झाउनु हुन्छ त्यसैगरी युक्तिले सम्झाउनु पर्छ। पुरुषार्थ गरेर यस्तो श्रेष्ठ बन्नु छ। बाबा बच्चाहरूलाई सम्झाउनु हुन्छ– बच्चाहरूमा दैवी गुण हुनुपर्छ। कुनै कुरामा रिसाउनु हुँदैन, अनुहार मुर्दा जस्तो बनाउनु हुँदैन। बाबा भन्नुहुन्छ– यस्तो कुनै काम अब नगर। चण्डी देवीको पनि मेला लाग्छ। चण्डिका उनलाई भनिन्छ जो बाबाको मतमा चल्दैनन्। जसले दु:ख दिन्छन्, यस्ता चण्डिकाहरूको पनि मेला लाग्छ। मनुष्य अज्ञानी छन् नि, अर्थ कहाँ बुझ्छन् र! कसैमा तागत छैन, ती त मानौं खाली छन्। तिमीले बाबालाई राम्ररी याद गर्छौ त्यसैले बाबाद्वारा तिमीलाई तागत मिल्छ। तर यहाँ रहेर पनि धेरैको बुद्धि बाहिर भड्किरहन्छ त्यसैले बाबा भन्नुहुन्छ– यहाँ चित्रको सामुन्ने बस अनि तिम्रो बुद्धि यसमा व्यस्त रहन्छ। सृष्टि-चक्र, सिँढीको चित्रमा कसैलाई सम्झाउँदा भन– सत्ययुगमा धेरै कम मनुष्य हुन्छन्। अहिले त धेरै मनुष्य छन्। बाबा भन्नुहुन्छ– मैले ब्रह्माद्वारा नयाँ दुनियाँको स्थापना गराउँछु, पुरानो दुनियाँको विनाश गराउँछु। बसेर यस्तो-यस्तो अभ्यास गर्नुपर्छ। आफ्नो मुख आफैं खोल्न सक्छौ। भित्र मनमा जे चल्छ त्यो बाहिर पनि निस्किनुपर्छ। लाटो त होइनौ। घरमा गफ गर्नको लागि मुख खुल्छ, ज्ञान सुनाउनको लागि खुल्दैन! चित्र त सबैलाई मिल्न सक्छ, हिम्मत राख्नुपर्छ– आफ्नो घरको कल्याण गरुँ। आफ्नो कोठा चित्रले सजायौ भने तिमी व्यस्त रहन्छौ। यो मानौं तिम्रो पुस्तकालय हुन्छ। अरूको कल्याण गर्नको लागि चित्र आदि राख्नुपर्छ। जो आउँछन् उनलाई सम्झाऊ। तिमीले धेरै सेवा गर्न सक्छौ। अलिकति सुने भने पनि प्रजा बन्छन्। बाबाले धेरै उन्नतिका युक्तिहरू बताउनु हुन्छ। बाबालाई याद गर्यौ भने तिम्रो विकर्म विनाश हुन्छ। गंगामा गएर एकदम डुब्यो भने पनि विकर्म विनाश हुँदैन। यो सबै हो अन्धश्रद्धा। हरिद्वारमा त सारा सहरको फोहोर आएर गंगामा खस्छ। सागरमा कति फोहोर जान्छ। नदीमा पनि फोहोर परिरहन्छ, त्यसबाट फेरि पावन कसरी बन्न सकिन्छ? मायाले सबैलाई बिलकुल बेसमझ बनाएको छ।

बाबाले बच्चाहरूलाई नै भन्नुहुन्छ– मलाई याद गर। तिम्रो आत्माले बोलाउँछ नि– हे पतित-पावन आउनुहोस्। ती त तिम्रा शरीरका लौकिक पिता हुन्। पतित-पावन त एउटै बाबा हुनुहुन्छ। अहिले हामीले उहाँ पावन बनाउने बाबालाई याद गर्छौं। जीवनमुक्ति दाता एउटै हुनुहुन्छ, अरू कोही छैन। यति सजिलो कुराको अर्थ पनि कसैले बुझ्दैन। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–

१) मुखबाट ज्ञान रत्न निकाल्ने अभ्यास गर्नु छ। कहिल्यै पनि मुखबाट काँडा वा पत्थर निकाल्नु हुँदैन। आफ्नो र घरको कल्याण गर्नको लागि घरमा चित्रहरूले सजाउनु पर्छ, त्यसमा विचार सागर मन्थन गरेर अरूलाई सम्झाउनु छ। व्यस्त रहनु छ।

२) बाबासँग आशीर्वाद माग्नुको सट्टा उहाँको श्रेष्ठ मतमा चल्नु छ। बलिहारी शिवबाबाको हो त्यसैले उहाँलाई याद गर्नु छ। यो अभिमान आउनु हुँदैन मैले बाबालाई यति दिएँ।

वरदान:- विश्व कल्याणकारीको उच्च स्टेजमा स्थित रहेर विनाश लीलालाई हेर्ने साक्षी द्रष्टा भव
अन्तिम विनाश लीलालाई हेर्नको लागि विश्व-कल्याणकारीको उच्च स्थिति स्थित हुनु पर्छ। जुन स्थितिमा स्थित हुनाले देहका सर्व आकर्षण अर्थात् सम्बन्ध, पदार्थ, संस्कार, प्रकृतिको हलचलको आकर्षण समाप्त हुन्छ। जब यस्तो स्थिति हुन्छ तब साक्षी द्रष्टा बनेर उच्च स्थितिमा स्थित भएर शान्तिका, शक्तिका किरणहरू सर्व आत्माहरूलाई प्रदान गर्न सक्नेछौ।
स्लोगन:- ज्ञान योगद्वारा स्वयंलाई बलवान बनायौ भने मायाको शक्ति समाप्त हुन्छ।

Share: