महाशिवरात्रि पर्व 2076

काठमाण्डौ, फाल्गुण ९ गते,
महाशिवरात्रि पर्वको पुनीत अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र काठमाण्डौले उपत्यकाका भिन्ना भिन्नै सात स्थानबाट शिव पार्वतीको चैतन्य झाँकी सहितको परमात्मा अनुभूति शान्ति पद यात्रा निकालेको थियो । जसको समापन महाशिवरात्रि– स्वर्णिम युग उदयको पर्व विषयक आध्यात्मिक प्रवचन कार्यक्रमका साथ राष्ट्रिय प्रज्ञा प्रतिष्ठान परिसर कमलादीमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको उद्घाटन अवसरमा हजारौंको संख्यामा उपस्थिति एक विशाल सभालाई पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले महाशिवरात्रि पर्व परमात्मा शिव भगवान पशुपतिनाथले संसारमा विद्यमान कुकृति, अधम, अपराध र अन्य मानवीय आसुरी कालकुट जस्ता विषहरूलाई समाप्त गरी समस्त मानव जातिको कल्याण गरेको महान यादगार पर्व भएको कुरा राख्दै यस सत्यलाई पुनस्र्थापन गर्नमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले महत्वपूर्ण भूमिका खेलेको कुरा बताउनु भयो । समारोहमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी राज दिदीले शिव पशुपतिनाथको भूमि नेपालबाट नै विश्वमा शान्ति, सद्भाव र धार्मिक सहिष्णुता फैलिने कुरामा जोड दिनु भयो ।
समारोहमा पूर्व मन्त्री केशवलाल श्रेष्ठ, ब्रह्माकुमार रामसिंह ऐर, ब्रह्माकुमार तिलक बहादुर शाही, ब्रह्माकुमार किशोर मल्ल सहितका वक्ताहरूले शिवरात्रिको महत्व बारे आ–आफ्ना विचार राख्नुभएको थियो । यस अघी तीनकुने चौकबाट निकालिएको शान्ति यात्रालाई महान्यायाधीवक्ता अग्नी खरेल, पाटनबाट शुभारम्भ यात्रालाई, निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेल, ठमेल विश्व शान्ति भवन परिसरबाट आरम्भ यात्रालाई पूर्व मन्त्री तथा सांसद प्रा. भिमसेनदास प्रधान, कालीमाटी चोकबाट निकालिएको यात्रालाई, प्रदेश नं. ३ का सांसद जीवनराम श्रेष्ठ, चावहिल भृकुटी चौकबाट नेवा संघका अध्यक्ष नुर्बु लामा आचार्य, बसुन्धारा चौकबाट का.म.न.पा. वडा नं. ५ का अध्यक्ष श्री जगन्नाथ ढकाल, गोंगबु, रिंगरोडबाट आरभ्भ भएको यात्रालाई पूर्व मन्त्री अर्जुन नरसिंह के.सी, लगायतका महानुभवाहरूले आफ्ना शुभकामना मन्तव्य सहित शान्ति पद–यात्राको शुभारम्भ गर्नुभएको थियो । यी यात्राद्वारा हजारौं व्यक्तिहरूलाई परमात्म सन्देश दिइएको थियो । यसैगरी मुलुकभरीका ब्रह्माकुमारी सेवा केन्द्रद्वारा शान्ति यात्रा, प्रवचन, चैतन्य झाँकी आदिको आयोजना गरी शिवरात्रि पर्व धुमधामसँग मनाएको खबर प्राप्त भएको छ ।

Share: